२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

पाँच इन्भेस्टमेन्ट कम्पनीको करिब साढे तीन अर्ब बराबरकाे आईपीओ आउँदै (सूचीसहित)

आइतवार , श्रावण १०, २०८३

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा लगानी क्षेत्रका ५ वटा इन्भेस्टमेन्ट कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अनुमति मागेका छन्।

यी कम्पनीहरूले सर्वसाधारणका लागि कुल २ करोड १४ लाख ३ सय ७५ कित्ता आईपीओ निष्कासन गरी ३ अर्ब ४१ करोड ६० लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको पूँजी जुटाउने तयारी गरेका छन्।

सेबोनको पछिल्लो विवरणअनुसार पाइपलाइनमा रहेका ५ कम्पनीमध्ये ४ वटाले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेका छन्। शिवम् होल्डिङ्स लिमिटेडले भने प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने तयारी गरेको छ। 

पाइपलाइनमा रहेका कम्पनीमध्ये शिवम् होल्डिङ्स लिमिटेडले सबैभन्दा ठूलो आकारको आईपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता २१० रुपैयाँका दरले १ करोड १६ लाख कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११० रुपैयाँ प्रिमियम थप गरी कुल २१० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ पूँजी सङ्कलन गर्नेछ। यसको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

ईस्टर्न सहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ। अंकित मूल्य १०० रुपैयाँका दरले कम्पनीले २७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्न लागेको हो। यसको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

वरुण इन्भेस्टमेन्ट लिमिटेडले २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ। कम्पनीले २०८० पुस २५ गते आवेदन दिएको थियो भने २०८२ जेठ २० गते अद्यावधिक विवरणपत्र बोर्डमा बुझाइसकेको छ। कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ। यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

सिड इनर्जी लिमिटेडले २४ लाख ७५ हजार ३ सय ७५ कित्ता शेयर निष्कासनका लागि आवेदन दिएको छ। अंकित मूल्य १०० रुपैयाँका दरले कम्पनीले २४ करोड ७५ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ। यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यस्तै, शिव शङ्कर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडले २१ लाख कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ। कम्पनीले २१ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले २०८२ वैशाख २५ गते बोर्डमा आवेदन दिएको थियो। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

सेबोनबाट अन्तिम स्वीकृति पाएपछि यी कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछन्। लगानी क्षेत्रका कम्पनीहरूबाट ठूलो आकारमा आईपीओ आउन लागेको भए पनि निष्कासनको वास्तविक मिति भने बोर्डको स्वीकृतिमा रहनेछ । 

धिताेपत्र बाेर्डका अनुसार अहिले यी कम्पनिहरुले आईपीओ जारी गर्न दिनेबारे गृहकार्य भइरहेकाे छ । धिताेपत्र बाेर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले आईपीओ स्वीकृतिका लागि मापदण्ड बनाएर स्वीकृति दिने तयारी भइरहेकाे बताए । उनका अनुसार नयाँ मापदण्डबमोजिम कम्पनीहरूले स्वीकृति पाउने छन् ।  अहिले आवेदन दिएका कम्पनीहरूको वित्तीय एवं व्यवस्थापकीय पक्षको तथ्यपरक अध्ययन भइरहेकाे छ ।  

आईपीओअघि सम्बन्धित कम्पनीबाट पूँजी संकलन भए/नभएको अध्ययन गर्ने कामसमेत भइरहेकाले यी सबै कुराबाट योग्य कम्पनीलाई केही समयभित्रै आईपीओ अनुमति दिने उनले बताए । 

कुन कम्पनीले कतिकाे सेयर जारी गर्दैछन् ?

कम्पनीको नाम शेयर संख्या (कित्ता) कुल रकम (रु.) निष्कासन तथा बिक्री प्रबन्धक
वरुण इन्भेस्टमेन्ट लि. २४,७५,००० २४,७५,००,००० ग्लोबल आइएमई क्यापिटल लि.
सिड इनर्जी लि. २४,७५,३७५ २४,७५,३७,५०० एनएमबि क्यापिटल लि.
शिवम् होल्डिङ्स लि.  १,१६,००,००० २,४३,६०,००,००० सिद्धार्थ क्यापिटल लि.
शिव शङ्कर हाइड्रो इन्भेस्टमेन्ट लि. २१,००,००० २१,००,००,००० लक्ष्मी सनराइज क्यापिटल लि.
ईस्टर्न सहारा कम्पनी लि. २७,५०,००० २७,५०,००,००० ग्लोबल आइएमई क्यापिटल लि.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट