काठमाडौं । धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्तामार्फत सहमति जुटाउन सरकारले थप दुई उच्च अधिकारीलाई धनगढी पठाएको छ ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको उडानबाट आइतबार धनगढी पुगेका हुन् । यसअघि शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै वार्ताको वातावरण बनाउन धनगढी पुगिसकेका छन् ।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेपछि सरकारले अनशनको सहमतिपूर्ण निकास खोज्न यो उच्चस्तरीय टोली खटाएको हो । धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिसँग औपचारिक वार्ता गर्ने तयारी गरेको छ ।
लगातारको अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाह बमोजिम सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । हाल सोही अस्पतालमा उनको उपचार तथा स्वास्थ्य निगरानी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस