२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

फ्रान्सबाट बुद्ध एयरले भित्र्यायो नयाँ पुस्ताको एटीआर–७२–६००, थप चार जहाज ल्याइँदै

कम इन्धन खपतदेखि कम भिजिबिलिटीमा सुरक्षित अवतरणसम्मका सुविधा

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर–७२–६०० सिरिजको नयाँ विमान नेपाल भित्र्याएको छ । कम्पनीले फ्रान्सको तुलुसबाट कलसाइन ९ एन–एओएस रहेको विमान नेपाल ल्याएको हो ।

बुद्ध एयरका अनुसार विमान नेपाल आइपुगेपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेर आगामी महिनादेखि व्यावसायिक उडानमा प्रयोग गरिनेछ । कम्पनीले आफ्नो फ्लीटलाई क्रमशः एटीआर–७२–६०० सिरिजमा रूपान्तरण गर्ने योजनाअनुसार नयाँ विमान थप्दै गएको जनाएको छ ।

नयाँ विमानमा अत्याधुनिक उडान प्रणाली (एभियोनिक्स), पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट सिस्टम तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ । एटीआर–७२–६०० सिरिजका विमान तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले सञ्चालन लागत घटाउनुका साथै वातावरणीय प्रभावसमेत कम गर्ने कम्पनीको भनाइ छ ।

यस विमानको प्रमुख विशेषतामध्ये आरएनपी–एआर एप्रोच प्रणाली पनि हो । यो प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९ सय मिटर भिजिबिलिटीमा समेत विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिनेछ ।

हाल कम भिजिबिलिटीका कारण विमानस्थलमा उडान अवतरण प्रभावित हुने गरेको अवस्थामा नयाँ प्रविधियुक्त विमानले त्यस्ता समस्या न्यूनीकरण गर्न सहयोग गर्ने बुद्ध एयरको विश्वास छ । विशेषगरी मौसम खराब हुँदा वा कुहिरोका कारण दृश्यता कम हुँदा हुने उडान ढिलाइ र अवरोध घटाउन आरएनपी–एआर प्रणाली उपयोगी हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया लागू गर्ने विषयमा अध्ययन गरिरहेको छ । उक्त प्रक्रिया कार्यान्वयनमा आएमा करिब २ हजार मिटर भिजिबिलिटी रहेको अवस्थामा समेत बुद्ध एयरको एटीआर–७२–६०० बाट सुरक्षित उडान तथा अवतरण गर्न सकिने अवस्था बन्ने कम्पनीको भनाइ छ ।

हाल ‘इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम’ (आईएलएस) प्रक्रियाअनुसार पोखरा विमानस्थलमा अवतरणका लागि करिब ३ हजार १ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । त्यस्तै, काठमाडौं र भैरहवा विमानस्थलमा पनि करिब १ हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने बताइएको छ । नयाँ प्रविधिमा आधारित उडान प्रक्रियाले यस्तो निर्भरता घटाउन सक्ने अपेक्षा गरिएको छ ।

बुद्ध एयरले आगामी अगस्टको अन्तिमतिर एटीआर–७२–६०० सिरिजकै अर्को विमान पनि नेपाल ल्याउने तयारी गरेको छ । त्यसपछि आगामी केही महिनाभित्र थप दुईवटा विमान भित्र्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले कम्पनीले आफ्नो फ्लीटलाई एटीआर–७२–६०० सिरिजमा लैजाने रणनीति अघि बढाएको बताए ।

‘एटीआर–७२–६०० मा जाने योजनाअनुसार हामी यस वर्ष कम्तीमा चारवटा जहाज थप्दै छौं,’ उनले भने ।

हाल बुद्ध एयरसँग एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० विमान रहेको छ । नयाँ विमान थपिएसँगै कम्पनीले आफ्नो फ्लीटमा आधुनिक र बढी दक्ष विमानको हिस्सा बढाउँदै लैजाने भएको छ ।

एटीआर–७२–६०० फ्रान्सको एयरबस र इटालीको लियोनार्डोको संयुक्त प्रयासमा विकसित एटीआर कम्पनीले निर्माण गरेको क्षेत्रीय उडानका लागि लोकप्रिय ट्विन–इन्जिन टर्बोप्रोप विमान हो । यसले ४४ देखि ७८ जनासम्म यात्रु बोक्न सक्छ ।

कम इन्धन खपत, छोटो धावनमार्गबाट उडान तथा अवतरण गर्न सक्ने क्षमता र क्षेत्रीय गन्तव्यका लागि उपयुक्त डिजाइनका कारण एटीआर–७२–६०० विश्वका विभिन्न मुलुकमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ । क्षेत्रीय उडानका लागि जेट विमानको तुलनामा सञ्चालन लागत कम हुने भएकाले यो सिरिजलाई वायुसेवा कम्पनीहरूले प्राथमिकतामा राख्ने गरेका छन् ।

नेपालको भौगोलिक बनावटका कारण पनि एटीआर–७२–६०० जस्ता विमान क्षेत्रीय उडानका लागि उपयुक्त मानिन्छन् । नेपालका धेरै विमानस्थल डाँडाकाँडाले घेरिएका छन् भने विभिन्न गन्तव्यमा उचाइ र मौसमको अवस्था फरक–फरक छ । यस्तो भौगोलिक अवस्थाका साथै तराई क्षेत्रमा हुने उच्च तापक्रमलाई समेत ध्यानमा राख्दा एटीआर–७२–६०० प्रभावकारी हुने बुद्ध एयरको दाबी छ ।

‘एटीआर–७२–६०० जहाज नेपालको भौगोलिक अवस्था र तराई क्षेत्रको उच्च तापक्रमका लागि निकै प्रभावकारी छ,’ अध्यक्ष बस्नेतले भने ।

बुद्ध एयरले नयाँ विमान थपेसँगै आफ्नो आन्तरिक उडान क्षमता विस्तार गर्नुका साथै यात्रु सेवा, उडान विश्वसनीयता र सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट