२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

'एक पटकको नेपाली, सधैँको नेपाली हो, ढुक्क हुनुहोस्': अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने अवधारणामा सरकार र पार्टी पूर्ण रूपमा स्पष्ट रहेको भन्दै विदेशमा रहेका नेपालीहरूलाई विश्वस्त रहन आग्रह गरेका छन् ।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीहरू नेपालको विकास र लगानी विस्तारका लागि 'सद्भावना दूत' भएको बताए ।

नेपालमा अभूतपूर्व जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको उल्लेख गर्दै उनले यस यात्रामा गैरआवासीय नेपालीहरूको सहकार्य अनिवार्य रहेको बताए ।

"सरकारले बितेका एक सय दिनमा उच्च इमानदारीका साथ सुशासन, सहज सेवा प्रवाह र अर्थतन्त्र सुधारका लागि उल्लेखनीय सुरुवात गरेको छ," अर्थमन्त्री वाग्लेले भने, "मेरिटोक्रेसी, नेतृत्वको उच्च नैतिकता, भ्रष्टाचारप्रति शून्य सहनशीलता र आर्थिक राजकाजको दिशा परिवर्तन पछिल्लो एक दशककै सुनौलो सुधारको थालनी हो ।"

बजेटमार्फत कर, राजस्व र बजेट वितरणमा नयाँ सुरुवात गरिएको तथा लगानीका नयाँ सम्भावना खोलिएको दाबी गर्दै उनले अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा पूँजी र प्रविधि भित्र्याउन आह्वान गरे। लगानीको प्रतिफल सहजै फिर्ता लैजाने वातावरण सरकारले बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

"हामीले एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेका छौँ। आफैँले कमाएको वैध धन वा विदेशी लगानी नेपाल भित्र्याउन तपाईंहरू नै सबैभन्दा उत्तम सहजकर्ता हुनुहुन्छ," उनले थपे ।

अस्ट्रेलियाको कुल जनसङ्ख्याको झन्डै एक प्रतिशत हिस्सा ओगटेका नेपालीहरू मुलुकको समृद्धिका लागि ठूलो सम्पत्ति भएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले देश निर्माणको साझा स्वार्थमा एकताबद्ध भएर हातेमालो गर्न प्रवासमा रहेका सबै नेपालीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट