सिरहा । सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका ६ जनामध्ये दुई जना गम्भीर आपराधिक मुद्दाका फरार अभियुक्त रहेको खुलेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले पक्राउ गरेका व्यक्तिमध्ये सप्तरीको रुपनी गाउँपालिका–१ निवासी ४२ वर्षीय महम्द नाजिर मियाँ ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई २५ वर्ष कैद सजाय पाएका फरार कैदी रहेको प्रहरीले जनाएको छ। उनी झुम्का कारागारबाट २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।
यस्तै, सप्तरीको बोदे बर्साइन नगरपालिका–२ निवासी शम्भु प्रसाद यादवविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको र उनी लामो समयदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले उनीहरूसँगै बैजनाथ प्रसाद यादव, जमाहिर आलम, मो। इमामुद्दिन तथा भारतको बिहार निवासी विद्यानन्द यादवलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस