नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य गरेर नेकपासँग नयाँ समीकरण बनाएको नेकपा एमालेभित्र आफूले नेतृत्व गर्ने तीन प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा आन्तरिक छलफल र दौडधुप तीव्र भएको छ ।
एमाले र नेकपाबीच भएको सहमतिअनुसार बागमती, कोशी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ । त्यससँगै ती तीनै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टी नेतृत्वसँग भेटघाट र लबिङ बढाएका छन् । यद्यपि अन्तिम निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएकाले उनको निर्णय नै निर्णायक हुने एमाले नेताहरू बताउँछन् ।
बागमतीमा किरण र जगन्नाथबीच प्रतिस्पर्धा
संघीय राजधानी रहेको बागमती प्रदेशमा एमालेबाट दुई जना मुख्य दाबेदार देखिएका छन् । चितवनबाट निर्वाचित एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र भक्तपुरबाट निर्वाचित किरण थापामध्ये एक जनाले मुख्यमन्त्री बन्ने सम्भावना रहेको एमाले स्रोत बताउँछ ।
थपलिया यसअघि आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने थापा दुई पटक स्वास्थ्य मन्त्री भइसकेका छन् । दुवै नेता अध्यक्ष ओली निकट मानिन्छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बालकोटस्थित ओली निवासमा आगजनी भएपछि उनलाई गुण्डुमा सुरक्षित राख्ने व्यवस्थापनमा किरण थापाले सक्रिय भूमिका खेलेको एमाले वृत्तमा चर्चा छ ।
व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका थापालाई एमाले नेता महेश बस्नेतले पार्टीमा भित्र्याएका थिए । पहिलो स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष बनेका थापा दोस्रो स्थानीय निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
स्वास्थ्य मन्त्रीका रूपमा उनको कार्यसम्पादन प्रभावकारी रहेको मूल्यांकन र अध्यक्ष ओलीसँगको निकट सम्बन्धका कारण बागमतीमा थापाको सम्भावना बलियो रहेको एमाले स्रोतको दाबी छ । राजीतिमा थापाले एमाले नेता महेश बस्नेतलाई ‘गड फादर’को रुपमा लिने गरेका छन् ।
बस्नेतले ओलीलाई त्यही रुपमा लिने र गुण्डु बस्दा ओलीले समेत थापालाई नजिकको सम्बन्ध राखेकाले पनि ओलीको नजर थापाप्रति रहेको एमाले स्रोतको दाबी छ ।
कोशीमा मेन्याङ्बो अगाडि
हाल पनि एमालेकै नेतृत्वमा रहेको कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बन्ने सम्भावना कमजोर देखिएको स्रोतको भनाइ छ । नेतृत्व पुनर्गठनको बहसमा कार्की ओलीको विपक्षमा उभिएको विषयलाई समेत यससँग जोडेर हेरिएको छ ।
एमाले संसदीय दलका उपनेता तथा ताप्लेजुङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित मेन्याङ्बो अध्यक्ष ओलीको निरन्तरताको पक्षमा उभिएका कारण उनी नै नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको एमाले स्रोतको दाबी छ ।
लुम्बिनीमा भूमिश्वर ढकालको सम्भावना
लुम्बिनी प्रदेशमा हाल एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। तर पार्टी नेतृत्व परिवर्तनको बहसमा उनी ओलीको विपक्षमा देखिएकाले पुनः मुख्यमन्त्री बन्ने सम्भावना कमजोर रहेको एमाले स्रोत बताउँछ ।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अध्यक्ष ओलीको पक्षमा खुलेर उभिएका नेतामध्ये एक हुन् । रुपन्देही प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित ढकाललाई लुम्बिनीको नयाँ मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रूपमा हेरिएको छ । यद्यपि उनी एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग निकट नरहेको चर्चा पनि पार्टीभित्र छ ।
मुख्यमन्त्रीको अन्तिम निर्णय भने अध्यक्ष ओलीले राजनीतिक समीकरण, प्रदेशको सन्तुलन र पार्टीभित्रको शक्ति सन्तुलनलाई आधार बनाएर हुने एमाले नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस