काठमाडौँ । मुलुककै पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा रहेको ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ को सोमबार औपचारिक उद्घाटन गरिँदै छ ।
जापानी सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित यो सुरुङमार्गको उद्घाटनसँगै नेपालको पूर्वाधार विकासमा नयाँ अध्याय थपिने भएको छ ।
सडक विभागका अनुसार सोमबार बिहान १०:३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्ष तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रमका लागि जाइका अध्यक्ष अकिहिको आइतबार नै नेपाल आइपुग्दै छन् ।

उद्घाटन भएलगत्तै सबै प्रकारका सवारी साधनले सुरुङमार्गमा प्रवेश पाउने छैनन् । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र प्रवेश अनुमति दिइनेछ ।

सर्वसाधारणका सवारी साधनका लागि खुला गर्नुअघि विभिन्न प्राविधिक परीक्षण र सुरक्षा अभ्यास गरिनेछ । 'उद्घाटनको एक साताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागीजस्ता विपद्को पूर्वतयारी स्वरूप नमूना अभ्यास गरिनेछ,' जैसीले भने, 'त्यसपछि करिब एक हप्ताका लागि एकतर्फी (वान-लेन) परीक्षण सञ्चालन गरिनेछ ।'
सुरुङभित्रका जेट फ्यान, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरिसकेपछि करिब एक महिनाभित्र मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको योजना छ ।

सुरुङमार्गभित्र सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधन गुड्न पूर्ण रूपमा निषेध गरिएको छ । सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुई लेन सडक छन्, जसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढल निकासको व्यवस्था गरिएको छ ।
सन् २०१३ मा सडक विभागले सम्भाव्यता अध्ययन गरेको यो आयोजनाको निर्माण कार्य जापानी कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि सुरु गरेको थियो । सुरुमा २०८० वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण म्याद थपिएर २०८२ कात्तिकसम्म पुर्याइएको थियो ।

करिब १९ अर्ब रुपैयाँ लागतमा सम्पन्न २.६८८ किलोमिटर लामो यो सुरुङमार्गको सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी युसिन एआरटी जेभीले पाएको छ । यो चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम हो, जसले १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ५ वर्षसम्म यसको व्यवस्थापन गर्नेछ ।

काठमाडौँतर्फ २.३०७ किलोमिटर र धादिङतर्फ ०.५६५ किलोमिटरको पहुँच सडक (एप्रोच रोड) सहित तयार भएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको उकालो र घण्टौँसम्म हुने ट्राफिक जामबाट यात्रुले राहत पाउने अपेक्षा गरिएको छ । सडक विभागका अनुसार यसले नेपालको प्राविधिक क्षमता र पूर्वाधार विकासमा नयाँ आत्मविश्वास समेत थपेको छ ।

प्रतिक्रिया दिनुहोस