काठमाडौं । एसिसी मेन्स यू १६ इस्ट जोन कप २०२५ अन्तर्गत नेपालले समूहका सबै खेल जितेको छ ।
मलेसियामा भइरहेको समूह ए को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो । यससँगै नेपालले समूह चरणमा चारै खेलमा जित निकाल्यो ।
यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गरेको थियो ।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ६० रन मात्र बनाउन सक्यो ।
भुटानका लागि छेसाङ दाबाले सबैभन्दा बढी १४ रन बनाए । बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिए । सुयोग भट्टराई र सचिन भट्टले २–२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो । नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार गरे । उनले १३२ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १६८ रन बनाए ।
जय थापाले नटआउट ६१ रन बनाए । ओपनरद्वय परिमार्जन यादव २ रन र प्रसिद्ध जैशी ७ रनमा आउट भएका थिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।
समूह ए मा नेपालको ४ खेलमा ८ अंक भएको छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ ।
नेपालले अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस