काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।
समूह चरणको पहिलो भेटमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको नेपाल उपाधि उचाल्ने उच्च मनोबलका साथ मैदानमा हुनेछ। सिंगापुर भने प्रतियोगिताको पहिलो भेटको बदला फाइनलमा लिने दाउमा हुनेछ।
प्रतिक्रिया दिनुहोस