२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी

सोमवार , आषाढ २३, २०८२

कर्णाली । सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ ।

उक्त प्रदर्शनीको समापन कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरुलाई प्रोत्साहन मिल्ने बताए । “स्थानीय साधन स्रोतको उपयोगबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणमा ठूलो सहयोग पुगेको छ”, मन्त्री अधिकारीले भने, “यद्यपि यस्तो महत्त्वपूर्ण कार्यक्रम आगामी आर्थिक वर्षमा जेठ मसान्तभित्र सक्ने गरी सञ्चालन गर्नुपर्दछ ।”

नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेस सरंक्षण विकास समितिका सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादनको वृद्धिले आयात प्रतिस्थापन गर्न सघाउने बताए । उद्यम र उद्यमीको संरक्षण, प्रवर्द्धन र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव उनले दिए।

उद्योग मन्त्रालयका कायमुकायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशभित्रका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको बताए।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक देवीलाल सापकोटाले कृषि तथा खाद्य उत्पादन, वन पैदावर र हस्तकला क्षेत्रका विभिन्न उत्पादनहरु राखिएको प्रदर्शनीले कर्णालीको स्थानीय उत्पादन, प्रवर्द्धन, गुणस्तर, त्यसको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्ने बताए । उनका अनुसार कर्णालीमा लघु, घरेलु तथा साना उद्योग गरेर करिब ३६ हजार उद्योग रहेका छन् ।

उद्योग निर्देशनालयका शाखा अधिकृत सतेन्द्रकुमार यादवले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा जोड दिएर महिला, अपाङ्गता, एकल महिला र दलितमैत्री उद्योग निर्माणमा जोड दिनुपर्ने बताए । उनका अनुसार कर्णाली सरकारले मेक इन कर्णाली, मेड इन कर्णाली भन्ने नाराका साथ अगाडि बढेको छ ।

प्रदर्शनीमा उत्पादित राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडिबुटी, यहाँका रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना, टपरीलगायतका वस्तुहरु राखिएका थिए । प्रदर्शनीले उद्यमीलाई थप प्रोत्साहन दिएको छ । उक्त प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने उद्यमीलाई निर्देशनालयले क्रमश  ५०, ३० र २० हजार पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी, ‘कर्णाली प्रादेशिक औद्योगिक प्रदर्शनी २०८२’ का अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्र छात्राहरुलाई १५, १० र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा ६५ स्टल राखिएका थिए । सो प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ