काठमाडौं । घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।
सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ ।
सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया र मन्त्री गुप्ता बीच सम्वाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।
अडियोलाई आधार मान्दा भूमि आयोगको जिल्ला अध्यक्ष जस्तो राजनीतिक नियुक्तिमा मात्र नभएर मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा पनि डिल भएको छ । पालपोत कार्यालय प्रमुख सरुवामा ५३ लाख घुसको डिल भएको छ ।
उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ ।
केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।
यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस