काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यमा सरकारको गम्भीर नभएको बताएका छन् ।
आज संसदमा सम्बोधन गर्दै उनले उक्त रङ्गशाला निर्माणप्रति जनताको चासो र अपेक्षा उच्च रहेको बताउँदै घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे ।
प्रधानमन्त्री केपी ओलीले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेको तर, आज (एक वर्ष) ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए ।
उनले जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ? भन्दै सरकारलाई प्रश्न गरे ।
उनले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रङ्गशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीले शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो, तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन सकेन’
उनले योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिने भन्दै विकासका काम पनि योजनाबद्ध ढङ्गले निरन्तरता दिइनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस