काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् ।
उनले सोमबार रास्वपाको पार्टी कार्यालय वनस्थलीमै पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध वरिष्ठ अधिवक्ता भण्डारीले हस्ताक्षर गरेको तस्बिर पोष्ट गर्दै रास्वपा सांसद सोविता गौतमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज, यस राष्ट्रका ज्येष्ठतम् वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी जसको जीवन स्वयं इतिहास हो, जसले यो मुलुकका सबै राजनीतिक परिवर्तनहरू प्रत्यक्ष देख्नुभएको छ, उहाँ आफ्नै इच्छा र प्रतिबद्धतासाथ पार्टी कार्यालयमा आइपुग्नु भयो र हस्ताक्षर अभियानमा सहभागी हुनु भयो।
एक अधिवक्ताको हैसियतले, न्यायिक क्षेत्रका वरिष्ठतम व्यक्तित्वले हाम्रो यस अभियानमा साथ दिनु भएको विषय मेरो लागि गौरवको विषय मात्र होइन, यो आन्दोलनको नैतिक उच्चताको प्रतीक पनि हो भन्ने महशसुस गरेको छु ।’
रास्वपाले पार्टी सभापतिविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो । देशभित्र मात्र नभएर विदेशमा पनि यो अभियान चलेको छ ।
प्रतिक्रिया दिनुहोस