२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

देशमा धेरै विकास भएको छ, तर केही भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजियो : विश्वप्रकाश शर्मा

सोमवार , आषाढ ३०, २०८२

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाए ।

यहाँस्थित बुद्धशान्ति गाउँपालिका–४ मा आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताए ।

“गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा ? १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्”, उनले भने, “नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने ?”

उनले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएको चर्चा गरे । उनले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताए ।

महामन्त्री शर्माले महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको स्मरण गर्नुभयो । उहाँले आफ्नो आग्रहलाई स्वीकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गरे ।

आज बुद्धशान्ति गाउँपालिका–४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिए ।

भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले तत्काल झापामा ५५० जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने बताए । दुई दिनअघि मात्र प्रधानमन्त्री केपी शर्माले कनकाई नगरपालिकाबाट जग्गाको धनीपुर्जा वितरण शुभारम्भ गरेका थिए । कनकाईमा १५७ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका थिए ।

यसैगरी, असार ३२ गते अर्जुनधारा नगरपालिकामा १३२ जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने आयोग झापाका अध्यक्ष अधिकारीले बताए। यसअघि गठित आयोगले दुई हजार ५०० भन्दा बढी धनीपुर्जा वितरण गरेको तथ्याङ्क आयोगमा रहेको उनको भनाइ छ । उनका अनुसार कतिपय व्यक्तिहरुले जग्गाको राजस्व तिर्न नसकेका कारण तयार भइसकेका धनीपुर्जा समेत वितरणमा ढिलाइ भइरहेको छ ।

झापामा विसं २०७७ यता आयोगमार्फत ५५ हजार भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट