कंचनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व संकलन वृद्धि भएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व संकलन गरेको छ । अघिल्लो आवमा कार्यालयले दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व संकलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ ।
प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/०८२ मा ८५ करोड आठ लाख ६५ हजार आयकर संकलन भएको छ । अघिल्लो आवमा ७५ करोड एक लाख ७२ हजार आयकर संकलन भएको थियो ।
त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/०८२ मा दुई करोड ८९ लाख ५४ हजार राजस्व संकलन गरेको छ । अघिल्लो आवमा दुई करोड ५२ लाख ५० हजार संकलन गरेको थियो । घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/०८२ मा एक करोड ३७ लाख ८० हजार घरबहाल कर संकलन गरेको छ ।
अघिल्लो आवमा एक करोड २२ लाख ७७ हजार घरबहाल कर संकलन गरेकामा कार्यालयले भ्याटमा ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार राजस्व संकलन गरेको छ । “यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ”, प्रमुख कर अधिकृत पराजुलीले भने, “अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व संकलनमा वृद्धि भएको छ ।”
कार्यालयको १३ करोड राजस्व बक्यौता रहेको छ । “भ्याटमा नौ करोड र आयकरमा चार करोड बक्यौता बाँकी छ”,उनले भने, “बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।”
बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए । “पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्कासमेत हुनसक्छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस