काठमाडौं । आर्थिक वर्ष ०८१/८२ मा १८ खर्ब चार अर्ब १२ करोडको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागका अनुसार यो आव ०८०/८१ को तुलनामा १३.२५ प्रतिशतको वृद्धिदर हो ।
आयात बढेसँगै व्यापार घाटा पनि बढेको छ । निर्यातको हिस्सा न्यून भएकाले गत आवमा १५ खर्ब २७ अर्ब व्यापार घाटा भएको भन्सार विभागको तथ्यांक छ, जुन अघिल्लो आव ०८०/८१ को तुलनामा ६ प्रतिशत बढी हो । उक्त आवमा १४ खर्ब ४० अर्ब व्यापार घाटा भएको थियो ।
विभागका अनुसार गत आवमा वस्तु आयात अघिल्लो वर्षको तुलनामा दुई खर्ब ११ अर्ब १३ करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
आयातको तुलनामा निर्यातमा भने सुधार देखिएको छ । गत आव ०८१/८२ मा दुई खर्ब ७७ अर्बको वस्तु निर्यात भएको छ । अघिल्लो आव ०८०/८१ मा एक खर्ब ५२ अर्बको मात्रै निर्यात भएको थियो ।
गत आवमा भारतबाट मात्रै १० खर्ब ७१ अर्बको वस्तु आयात भएको छ भने अर्को ठुलो छिमेकी चीनबाट तीन खर्ब ४१ अर्बको आयात भएको छ । भारतबाट भएको आयात कुल आयातको ५९ प्रतिशत हो ।
नेपालबाट कुल दुई खर्ब ७७ अर्बको निर्यातमा भारततर्फ मात्रै दुई खर्ब २४ अर्बको व्यापार भएको छ । चीनतर्फ निर्यात भने दुई अर्ब ६३ करोड मात्रै छ ।
प्रतिक्रिया दिनुहोस