काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक स्ट्याटस लेख्दै निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको उल्लेख गरेका छन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ ।
उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ ओलीले उल्लेख गरेका छन् ।
भन्सार विभागका अनुसार गत आवमा वस्तु आयात अघिल्लो वर्षको तुलनामा दुई खर्ब ११ अर्ब १३ करोड रुपैयाँले बढेको छ। अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
आयातको तुलनामा निर्यातमा भने सुधार देखिएको छ । गत आव ०८१/८२ मा दुई खर्ब ७७ अर्बको वस्तु निर्यात भएको छ । अघिल्लो आव ०८०/८१ मा एक खर्ब ५२ अर्बको मात्रै निर्यात भएको थियो ।
नेपालबाट कुल दुई खर्ब ७७ अर्बको निर्यातमा भारततर्फ मात्रै दुई खर्ब २४ अर्बको व्यापार भएको छ । चीनतर्फ निर्यात भने दुई अर्ब ६३ करोड मात्रै छ ।
प्रतिक्रिया दिनुहोस