काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।
थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागबाट प्रकाशित सूचनाअनुसार बैंकले सो कामका लागि ठेक्का सम्झौता गर्न बोलपत्र प्रक्रिया सुरु गरेको छ।
यो बोलपत्र प्रक्रिया ‘सिंगल स्टेज टू इन्भेलोप’ प्रणालीमार्फत हुनेछ। यस प्रणाली अनुसार इच्छुक कम्पनीहरूले दुई छुट्टाछुट्टै सिलबन्दी खाममा प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव बुझाउनु पर्नेछ। ती दुवै खामलाई पुनः एउटै सिलबन्दी खाममा हालेर बुझाउनु पर्नेछ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ ।
बोलपत्र दस्ताबेज खरिज गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्ने छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस