काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा तीन बुँदे सहमति भएपछि मुख्यमन्त्री लामा पदबाट राजीनामा तयार भएका हुन् ।
उनले संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए । शनिबार सभापति देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । भेटमा सहमति बनेपछि राजीनामा दिन लामा तयार भएका हुन् ।
बुढानीलकण्ठमा भएको तीन बुँदे सहमतिअनुसार भोलि मुख्यमन्त्री लामाले राजीनामा दिने, आफूले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउने सहमति भएको छ ।
संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर, उनीहरूले अहिलेसम्म शपथ भएको छैन ।
मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट पराजित भएपनि सरकारको नेतृत्व छाड्नुपर्ने कुनै आधार नरहेको बताउँदै आएका थिए, भने दलको नेतामा चयन भएका बानियाँले कांग्रेस संसदीय दलको विधानत व्यवस्थाले लामाले राजीनामा दिनुपर्ने बताउँदै विधि र पद्धतिबाटै गरिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस