काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले नेपाललाई द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रको खेतीमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस प्राकृतिक श्रोत विभागले नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको जडिबुटी विशेष कार्यक्रममा बोल्दै उनले नेपाललाई आर्थिक क्षेत्रमा छिटो फड्को मार्न सक्ने जडिबुटी क्षेत्र भएको बताएका हुन् ।
उनले भने, ‘हाइड्रोपावर लगायतमा गरेको लगानीले प्रतिफल दिन आठ दश वर्ष लाग्छ भने जडिबुटी क्षेत्रमा गरिएको लगानीले एक डेढ वर्षमै प्रतिफल दिन्छ ।’
नेपालमा प्रशस्त रूपमा पाइने जडिबुटी कानुनको अभावमा लोप हुँदै गएको भन्दै कानुन निर्माण गरेर त्यस्ता जडिबुटीको खेती गर्नुपर्नेमा उनले जोड दिए ।
आफू कानुन मन्त्री हुँदा जडिबुटी सम्बन्धि कानुन निर्माण गर्न प्रयास गरेपनि सफल हुन नसकेको प्रसङ्ग जोड्दै जडिबुटी सम्बन्धि कानुन निर्माणको लागि वन तथा वातावरण मन्त्रालयले नै विधेक तयार पार्नुपर्ने बताए ।
‘म कानुन मन्त्री हुँदा वन तथा वातावरण मन्त्रीलाई जडिबुटी उत्पादन, ब्यबस्थापन, प्रवर्द्धनको लागि विधेयक ल्याउन पटकपटक आग्रह गरे तर पनि विधेयक आउन सकेन ।’ उनले भने ।
नेपाललाई आर्थिक क्षेत्रमा द्रुत गतिमा उकास्न जडिबुटी क्षेत्र नै भएको दोहोराउदै यससँग सम्बन्धित सरोकारवाला सबैलाई निरन्तर चासो राख्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस