२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीको भीड

सोमवार , श्रावण १९, २०८२

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न भक्तजनको उपस्थिति बढेको बताए ।

‘छिमेकीमूलुक भारतको विहार र उत्तरप्रदेशका भक्तजन धेरैजसो ट्र्याक्टरमा सवारी गरेर आउने गर्नुहुन्छ,’’ उनले भने,‘‘ आइतबारबेलुकादेखि भक्तजनहरु आउनेक्रम ह्वात्तै बढेको छ । आज बिहानैदेखि भक्तजनहरु लामवद्ध भएर भगवानको दर्शनको लागि मन्दिर परिसरमा लामबद्ध भएर दर्शन र पूर्जाअर्चनाका लागि बसिरहेका छन्।’’

अध्यक्ष थारूले कतिपय भक्तजन आइतबार रातको समयमा महादेव भगवानको आराधाना गरेर सोमबार बिहानै दुग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिरमा जल चढाएर फर्किने बताउछन् । ‘‘हाम्रो आफ्नै धर्मशालामा करिब एक हजारभन्दा धेरै दर्शनार्थी अट्छन्,’’ उनले भने । दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष ग्यानलाल पटेलले दुग्धेश्वरनाथ महादेव मन्दिर दर्शन गर्नका लागि आउने दर्शनार्थीमध्ये ७५ प्रतिशत भारतीय हुने बताउछन् ।

‘‘दुग्धेश्वरमहादेव मन्दिरप्रति आस्था र सद्भाव राख्ने दर्शनार्थीको मनोकांक्षा पूरा हुने भएकाले पनि आउनलाई तछाडमछाड जस्तै हुने गर्छ,’’ उनले भने, ‘‘समितिले साउन महिनाभर चल्ने मेलाका लागि अस्थायी बसोबासको लागि त्रिपाल शौचालय, खानेपानी लगायतको प्रबन्ध गर्दै आइरहेका छ।’’

मेला समितिका अध्यक्ष ग्यानलाल पटेलले पर्साजिल्लाबाट संघीय र प्रदेश गरेर पाँच जना मन्त्री भए पनि भाथाधामको लागि आवश्यक सहयोग प्राप्त गर्न नसकेको गुनासो गरे । ‘‘भाथाधामको लागि हामीले व्यवस्थित खालको धर्मशालाको काम अघि बढाए पनि अझैसम्म पनि अधुरै रहेको छ,’’ उनले भने, ‘‘धाममा बिजुली, खानेपानी लगायतको अभाव भए पनि त्यसको परिपूर्तिको लागि कसैको पनि सहयोग प्राप्त गर्न सकिरहेका छैनौँ ।’’

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ । मेला समितिका अध्यक्ष पटेलले आज भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताए । अध्यक्ष पटेलले आज मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गरे ।

पर्टेवा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले पनि दुग्धेश्वरनाथ मेलालाई लक्षित गर्दै अस्थायी शौचालय र सडकको मर्मतसम्भारको काम गर्दै आइरहेको बताए । ‘दुग्धेश्वरमहादेव मन्दिर यहाँको आस्थाको धरोहरको रुपमा रहेको छ । यसको संरक्षण र प्रवद्र्धनको लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ,’’ उनले भने । मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्र्याक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दशनार्थी मोटरसाइकल र ट्र्याक्टर चढेर आउने गर्छन्। मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ ।

यो मन्दिर वीरगंजबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्रपर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ । पर्साको जगनाथपुर गाउँपालिकाबाट दुग्धेश्वर महादेवको आइतबार दर्शन गर्न आएकी विष्णु देवीले महादेव मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट