पत्रमा उनले २०८३ सालको निर्वाचनमा राप्रपाले अपेक्षाकृत कमजोर नतिजा बेहोरेको तथा अधिकांश उम्मेदवारको जमानत जफत भएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय रहेको धुम्बाराहीस्थित भवनका घरधनी दिलविकास राजभण्डारीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लाई पार्टी कार्यालय खाली गर्न आग्रह गर्दै कडा शब्दमा पत्र पठाएका छन्। पत्रमा उनले अध्यक्ष लिङ्देनमाथि पार्टी सञ्चालनदेखि आर्थिक आचरणसम्मका विषयमा गम्भीर आरोप लगाएका छन्।
राजभण्डारीले आफू तथा हजारौं कार्यकर्ताले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई सशक्त बनाउने अपेक्षासहित लिङ्देनलाई अध्यक्षमा निर्वाचित गराएको उल्लेख गर्दै वर्तमान नेतृत्वले पार्टीलाई विभाजन र अविश्वासको दिशातर्फ धकेलेको आरोप लगाएका छन्। उनले पार्टीभित्र इमानदार नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको, जसका कारण गुटबन्दी र फुटको अवस्था सिर्जना भएको दाबी गरेका छन्।
पत्रमा उनले २०८३ सालको निर्वाचनमा राप्रपाले अपेक्षाकृत कमजोर नतिजा बेहोरेको तथा अधिकांश उम्मेदवारको जमानत जफत भएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्। समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा समेत मनपरी भएको आरोप उनको छ।
राजभण्डारीले आफूलाई उपाध्यक्ष पदमा मनोनयन गरिए पनि अध्यक्षप्रतिको विश्वास टुटिसकेकाले उक्त पदमा रहँदा गौरव र सक्रियता दुवै कायम राख्न नसकेको बताएका छन्। उनले लिङ्देनको सम्पत्ति, आर्थिक स्रोत र जीवनशैलीबारे सार्वजनिक प्रश्नसमेत उठाएका छन्। साथै, गाडी चोरी, जग्गा हडप्ने, समानुपातिक सिट बिक्रीलगायतका आरोप सार्वजनिक रूपमा लाग्दा पनि अध्यक्षले त्यसबारे स्पष्ट जवाफ नदिएको आरोप पत्रमा उल्लेख छ।
आर्थिक विषय उठाउँदै उनले २०७९ को निर्वाचनका क्रममा आफूबाट अध्यक्ष लिङ्देन र पार्टी कोषाध्यक्ष निलकण्ठ काफ्ले ले ४५ लाख रुपैयाँ लगेको दाबी गरेका छन्। त्यसमध्ये १० लाख रुपैयाँ फिर्ता भएको र बाँकी ३५ लाख रुपैयाँ तत्काल फिर्ता गर्न माग गरेका छन्।
राजभण्डारीले धुम्बाराहीस्थित ‘श्रीमती शशीकला स्मृति भवन’ आफ्नो रगत–पसिनाको कमाइबाट निर्माण गरिएको सम्पत्ति भएको उल्लेख गर्दै उक्त भवनमा पार्टी कार्यालय सञ्चालन गर्न दिएको तर वर्तमान नेतृत्वमा त्यसको नैतिक औचित्य नरहेको बताएका छन्। उनले भवन खाली गराउन कानुनी प्रक्रियाअन्तर्गत ३५ दिने सूचना दिइसकिएको जानकारी पनि दिएका छन्।
पत्रको अन्त्यमा उनले राप्रपाको केन्द्रीय कार्यालय तत्काल खाली गर्न आग्रह गर्दै केन्द्रीय समिति बैठकले न्यायोचित निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। अन्यथा भविष्यमा कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष लिङ्देन स्वयंले लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस