उनले पछिल्लो समय प्रधानमन्त्री कार्यालयसँग जोडिएको भनिएको एउटा गम्भीर आरोपबारे पनि निष्पक्ष छानबिन आवश्यक रहेको बताए।
काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ ले गृहमन्त्री सुधन गुरुङ सम्बन्धी छानबिनबाट तयार भएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले छानबिन आयोगले गृहमन्त्रीलाई कुन आधारमा सफाइ दिएको हो भन्ने विषय स्पष्ट पार्न सरकारलाई आग्रह गरे। साथै, उक्त प्रतिवेदन सार्वजनिक गरेर जनतालाई यथार्थ जानकारी दिनुपर्ने उनको भनाइ थियो।
सांसद केरुङले जेनजी आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदन पनि तत्काल सार्वजनिक गरी त्यसका सिफारिस कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।
अख्तियारका पदाधिकारीमाथि दबाब सिर्जना गरी पक्राउ पुर्जी जारी गराउन खोजिएको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग थियो।
सदनमा बोल्दै उनले यस्ता आरोपले संवैधानिक निकायहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए। साथै, उक्त विषयमा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भई धारणा राख्नुपर्ने उनको माग थियो।
यसैबीच, सांसद केरुङले सीमा सम्बन्धमा प्रधानमन्त्रीले यसअघि संसद्मा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै उक्त टिप्पणी संसद्को अभिलेखबाट हटाउनुपर्ने आफ्नो पुरानो माग पुनः दोहो र्याए।
प्रतिक्रिया दिनुहोस