इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । एक वर्षको अवधिमा १३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको सो कार्यालयले १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व संकलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।
कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व संकलन गरेको थियो ।
कार्यालयले सवारी साधन वार्षिक करबाट नौ करोड ९६ लाख तीन हजार चार सय ४२ संकलन गरेको छ । सवारी दर्ता/नामसारी/नवीकरणबाट ७२ लाख तीन हजार पाँच सय ५५ संकलन गरेको छ । त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट एक लाख २८ हजार दुई सय संकलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए ।
त्यस्तै आयकरबाट ३७ लाख ८५ हजार पाँच सय ९० संकलन गरेको छ । कार्यालयले चालक अनुमतिपत्रबाट एक करोड ४३ लाख १७ हजार तीस संकलन गरेको छ । त्यसैगरी नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट एक करोड छ लाख १७ हजार तीस राजस्व संकलन भएको छ । इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट एक करोड तीस लाख ७२ हजार दुई सय तीस राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँच सय १० र मोटरसाइकलको दुई सय १० राजस्व लिने व्यवस्था गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।
यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए ।
प्रतिक्रिया दिनुहोस