काठमाडौं । जनकपुर विमानस्थलमा पछिल्ला केही सातायता चराको अत्यधिक गतिविधिका कारण नियमित हवाई उडान प्रभावित भएका छन्। विमानस्थलमा विगत दुई दिनयता रात्रि उडानमा चरा ठोक्किएपछि उडान अवतरणलाई निकै जोखिम बनाएको छ।
अगस्ट ५ र ६ मा दुईदिन लगातार जहाजको बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किँदा क्षति भएको छ। यस्तै जुलाई ३० मा पनि अवतरणका क्रममा चरा ठोक्किँदा उडान रद्द गर्नुपरेको थियो।
चराका कारण केही सातायता प्रत्येक दिन जहाजहरू ग्राउण्डेड भएका छन्।
जनकपुर विमानस्थलमा पछिल्ला घटना
जुन १३ – दिउँसो अवतरणका क्रममा बर्ड स्ट्राइक
जुन २६ – विहान अवतरणका क्रममा बर्ड स्ट्राइक
जुलाई ५ – रनवेमा जहाजसँग स्याल ठोक्किएको
जुलाई १८ – विहान अवतरण क्रममा बर्ड स्ट्राईक
जुलाई २३ – रनवेमा स्याल देखिँदा जहाज काठमाडौंँफिर्ता
जुलाई ३० – अवतरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त
५ अगस्त – रात्रिकालिन अतवरणका क्रममा चरा ठोक्किएको
६ अगस्त – रात्रिकालिन अतवरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किँदा प्रोपेलर क्षतिग्रस्त
विमानस्थलमा चरासँगै स्याल र चितुवा देखिने भिडियोहरू पनि सार्वजनिक भइरहेका छन्। जुलाई ५ मा जहाजसँग स्याल ठोक्किएको थियो भने जुलाई २३ मा रनवेमा स्याल देखिएपछि जहाज काठमाडौंबाट फर्कनुपरेको थियो।
बुद्ध एयरले चराको गतिविधि तथा अन्य जनावरजन्य अवरोध रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तत्परता जनाएको छ। कम्पनीले विमानस्थल वरपर सडेगलेका खाद्यपदार्थ र सिनो नफाल्न जनचेतनामूलक अभियान आवश्यक रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस