२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

सिप हस्तान्तरण नहुँदा हराउँदै जनै बनाउने चलन

शनिवार , श्रावण २४, २०८२

नवलपरासी । नयाँ पुस्तामा सिप हस्तान्तरण नहुँदा हिन्दु धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन हराउँदै जान थालेको छ । हिजो आज जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गए पछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।

युवापुस्ता रोजगारी तथा अन्य कार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सिप सिक्न नसक्दा अहिले यो सिप नै लोप हुने अवस्थामा पुगेको हो । युवापुस्ताले जनै बनाउने कार्यमा चासो नदिने तथा सुलभ मूल्यमा बजारमा जनै पाइने भएकाले यो क्रम हराउँदै गएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–६ का पूर्ण भुसालले बताए।

“अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सिप नहुँदा हिजो आज यो क्रम हराउँदै गएको छ”, उनले भने, “आफैँले बनाउनुभन्दा बजारमा किन्न सजिलो हुने भएपछि सबैले त्यसै गर्न थालेका छन् ।”

केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भएता पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको मध्यविन्दु नगरपालिका–७ का मणि सापकोटाले बताए।

“आजकाल अधिकांश युवा विदेश छन्, भएका पनि रोजगारीमा लागेका छन् । फुर्सद नहुँदा नयाँ युवाले जैनै बनाउने सिप नै सिक्न छाडे”, उनले भने, “अधिकांश गाउँघरमा युवा पुस्ताभन्दा वृद्ध वृद्धा र महिला बालबालिका मात्र हुँदा पनि जनै बनाउने मान्छे पनि नभएर यो सिप हराउँदै गयो ।”

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको सापकोटाले बताए । जनै पूर्णिमाको लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए। बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरकफरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दु संस्कारमा रहिआएको मान्यताअनुसार जनै पूर्णिमाको लागि जनैको कारोबार पनि ठुलै हुने गरेको पाइन्छ ।

विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहने गरेको पण्डित इन्द्रप्रसाद गौडेलले बताए ।

“आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजो आज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो” उनले भने “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।”

पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित गौडेलले गुनासो गरे ।

“रक्षा बन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भएता पनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उनले भने “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”

जनै पूर्णिमा (रक्षा बन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षा बन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रही आएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ”, पण्डित गौडेलले भने, “हिन्दु धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रो उच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षा बन्धन लगाएर जनै पूर्णिमा पर्व मनाउने परम्परा रही आएको छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट