काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामै राख्ने आदेश दिएको हो ।
लामिछानेले यही साउन १९ गते दिएको निवेदनमाथि आज जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भएको हो ।
सहकारी ठगी, संगठित अपराधको अभियोगमा पुर्पपक्षका लागि रुपन्देही कारगारमा रहेका लामिछानेले साउन १९ गते आफूलाई बिगो बमोजिमको धरौटी बुझाएरर थुनामुक्त गर्न रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले अदालतमा निवेदन दिएका थिए । उनले बिगो बराबरको रकम बैंक ग्यारेन्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
साउन २० र २१ गते उक्त निवेदनका लागि सुनुवाइ तोकिएको भए पनि निवेदक र प्रतिवादीका कानुन व्यवसायीले स्थगित गरेका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस