२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सहुलियतपूर्ण सरकारी कार्यक्रमको सदुपयोग गर्न उद्यमीलाई मन्त्री भण्डारीको आह्वान

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । महिला उद्यमी संघ बागमती प्रदेशको नव–निर्वाचित समितिले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मन्त्रालयमा भएको कार्यक्रममा महिला उद्यमी महासंघका अध्यक्ष सोभा ज्ञवालीसहित प्रदेश समितिका पदाधिकारीहरूले उद्योग क्षेत्रको अवस्था, सरकारी योजनाहरूको कार्यान्वयन र महिला उद्यमशीलताको विस्तारबारे छलफल गरेका हुन् ।

छलफलका क्रममा मन्त्री भण्डारीले नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिए । उनले छिमेकी मुलुकहरूले नेपाली बजारको मागअनुसार वस्तु उत्पादन गर्न सक्ने तर नेपालमा त्यसको कमी देखिएको उल्लेख गर्दै उदाहरणस्वरूप “चिनमा हिन्दु नभए पनि नेपालमा चाहिने जनै त्यहाँबाट आयात हुन्छ” भने ।

आयात रोक्न नसकिए पनि स्वदेशमै उत्पादन बढाएर प्रयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले भने, “हाम्रा चाडपर्वमा चाहिने अधिकांश वस्तु छिमेकी मुलुकले उत्पादन गर्छन्, त्यसरी नै हामीले पनि उत्पादन बढाउनु पर्छ । रोजगारीका अवसर नेपालमै प्रशस्त छन्, केवल त्यसलाई चिन्नु र उपयोग गर्नुपर्छ ।”

महिला उद्यमीका लागि सरकारले ल्याएका सहुलियतपूर्ण योजनाहरूको उल्लेख गर्दै उनले कम्पनी वा फर्म दर्ता गर्दा महिलाले शुल्क नतिर्नुपर्ने व्यवस्था, स्टार्टअप कर्जा कार्यक्रम र बजेटमा समावेश विभिन्न प्रोत्साहन योजनाको जानकारी दिए । “सबै मन्त्रालयका रेडबुक हेरेर आफ्ना क्षेत्रसँग मिल्ने कार्यक्रम पहिचान गर्नुहोस् र लाभ लिनुहोस्,” मन्त्री भण्डारीको सुझाव थियो ।

उनले कृषिको सम्भावनाबारे पनि ध्यानाकर्षण गराउँदै भने, “चिनमा रातो मासुको मूल्य नेपालभन्दा तीन गुणा बढी पाइन्छ, त्यसमा ध्यान दिनुपर्छ । हामी बिहानै फेसनका लागि जिमखानामा पसिना बगाउँछौं, तर त्यसको सट्टा बिहान दुई घण्टा खेतबारीमा पसिना बगाउने हो भने आर्थिक आम्दानी पनि हुन्छ ।”

महासँघका अध्यक्ष सोभा ज्ञवालीले सबै प्रदेशमा संगठन विस्तार गरी उद्यमीहरूलाई एकतावद्ध बनाउने अभियान चलाइरहेको बताइन् । साना तथा मझौला उद्यमीलाई तालिम र प्रविधि प्रदान गरी आत्मनिर्भर बनाउन संघ केन्द्रीत रहेको उल्लेख गर्दै उनले नेपालमै अवसर खोज्नेका लागि सहयोग गरिरहेको बताइन् ।

ज्ञवालीले सरकारले स्थापना गरिरहेका औद्योगिक ग्रामहरू उद्यमीका लागि पायक पर्ने स्थानमा निर्माण गर्नुपर्नेमा जोड दिँदै सरकारी परियोजना निर्माणका क्रममा महासंघसँग समन्वय गर्न आग्रह गरिन् । साथै, उनले महिला उद्यमीलाई लक्षित सरकारी कार्यक्रमहरूलाई साथ दिने प्रतिवद्धता महासंघले व्यक्त गरिन् ।

संघको बागमती प्रदेशको नव–निर्वाचित समितिलाई आजै सपथ ग्रहण समेत गराइएको छ । उक्त समितिलाई मन्त्री भण्डारीले खाँदा लगाउँदै बधाई ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट