२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको भेट, केके भयो कुराकानी ?

आइतवार , भाद्र १, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । वार्ताका क्रममा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयामका साथै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन् ।

यसैगरी उनले दुई देशबीचमा पछिल्लो समय ‘कनेक्टिभिटी’ बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक सङ्लग्नता बढेकामा खुसी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले ‘कनेक्टिभिटी’ नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गको थप विस्तार गरी हवाई सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् ।

साथै उनले भैरहवास्थित गौतमबुद्ध र कास्कीस्थित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउन आग्रह गरिन् । नेपालगञ्ज—दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री डा राणाको जोड थियो ।

उनले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको तदारुकतामा पनि जोड दिइन् । मन्त्री डा राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिइन् ।

साथै पछिल्लो समय प्लाईवुड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र ‘बिआइएस’ मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाएकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभ, बाढी र डुबान नियन्त्रणका बारेमा आगामी दिनमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा पनि मन्त्री डा राणाले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट