२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

राजनीतिक अराजकता रोक्न ठूला दल एकै ठाउँमा उभिएको हो : धनराज गुरुङ

सोमवार , भाद्र २, २०८२

कास्की । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक अराजकता र विकृति फैलिएका कारण ठूला दलहरु एक ठाउँमा उभिएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उपसभापति गुरुङले राजनीतिक दलहरुमा अराजकता पैदा हुँदा राष्ट्रियता नै कमजोर हुने बताए ।

राष्ट्रियता जोगाउन बिपी कोइरालाले जसरी मेलमिलापको नीति अगाडि सारेर नेपाल आए, त्यसरी नै वर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकाले देशलाई जोगाउन राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी रहेको बताए ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद राष्ट्रिय एकताको मेरुदण्ड भएकाले सबै पार्टी समाजवादलाई माथि उकास्न लाग्नुपर्नेमा उपसभापति गुरुङले जोड दिए। नेपाली राजनीतिलाई सुधारेर जान सक्यौँ भने देशमा देखिएका यावत् विकृति र विसङ्गति अन्त्य भएर जाने उनको भनाइ थियो ।

खेलकुदलाई पर्यटनसँग जोडेर जान सकियो भने खेलाडीमार्फत विदेशमा समेत पर्यटन र खेलकुदसँगसँगै प्रर्वद्धन गर्न सकिनेमा जोड दिँदै खेलजगत् देशको एउटा मात्र अनुशासित पाटो भएको उनले बताए ।

“खेलाडीलाई उत्साहित र आर्थिक रुपमा सबल बनाउन सक्यौँ भने मात्र नेपाली खेलाडीले स्वदेश तथा विदेशमा आफ्नो खेल उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्छन्”, उपसभापति गुरुङले भने ।

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेपाली युवालाई खेलकुदका माध्यमबाट सशक्तीकरण गर्दै उनीहरुको आर्थिक समृद्धिमा ध्यान दिन जरुरी भएको बताए। युवालाई खेल क्षेत्रप्रति आकर्षित गर्ने काम राज्य र खेल क्षेत्रका संस्थाबाट हुनुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख उमेशजङ्ग रायमाझीले खेलकुदलाई महत्वका साथ अगाडि बढाउन राज्यको ध्यान जान आवश्यक भएको बताए। नेपाली कांग्रेसका नेता गणेश वन, शुक्रराज शर्मा, किशोरदत्त बराल, देविन्द्र शेरचन, विष्णु क्षेत्री, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष विद्या मर्सानीलगायतले खेलकुद क्षेत्रको विकासमा जोड दिए। अभिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट