२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

गृह मन्त्रालयद्वारा सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी विधेयक रायका लागि ढाँचासहित सार्वजनिक

मंगलवार , भाद्र ३, २०८२

काठमाडौँ । गृह मन्त्रालयले सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचासहित सार्वजनिक गरेको छ ।

नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूल प्रवाहीकरण गरी संस्थागत सङ्गठन, विकास र कार्य सञ्चालनको मामिलामा सुशासनको स्थिति कायम राखी राख्नको लागि तथा संस्थालाई पारदर्शी, जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाउन संस्थाहरूको व्यवस्थापन समेत गर्न सङ्घ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न नयाँ ऐन निर्माण गर्न आवश्यक देखिएकाले विधेयक अघि बढाइएको हो ।

गृहमन्त्री रमेश लेखकले गृहको नेतृत्व सम्हालेपछि मन्त्रालयको कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न विधेयककहरु अघि बढाएका छन् । सो क्रममा मंगलबार विधेयकका ढाँचासहित राय सुझावका लागि पन्ध्र दिनको समयावधि राखेर सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

संविधानको धारा १७ को उपधारा (२) को खण्ड (घ) मा सङ्घ संस्था खोल्ने स्वतन्त्रता रहेको छ । धारा ५० को उपधारा (३) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने व्यवस्था तथा धारा ५६ मा राज्यको संरचनामा सङ्घीय लोकतान्त्रिक नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरिएको गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख सहसचिव भरत मणि रिजालले बताए ।

महाशाखा प्रमुख रिजालका अनुसार विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखापरीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन् ।

मन्त्रालयले ७७ वटै जिल्ला, सात वटै प्रदेश, संवैधानिक निकाय, राष्ट्रिय योजना आयोग, नगरपालिका र गाउँपालिका महासङ्घ लगायतलाई निकायमा ढाँचा राय परामर्शका लागि पठाएको जनाएको छ । “राय/परामर्शसहित पछि सहमतिका लागि अर्थ मन्त्रालय पठाउँछौँ,” उनले भने, “आगामी फागुनसम्म सङ्घीय संसदमा पेस गर्ने समयावधि रहेको छ ।”

प्रस्तुत विधेयकको मस्यौदा उपर विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको हो ।

दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धन गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने कार्यमा विधेयकको कार्यान्वयन पश्चात् थप प्रभावकारिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

साथै सङ्घ/संस्थाहरू स्थानीय तहका स्थानीय तहका जिल्लागत जिल्ला तह, हुँदै प्रदेशस्तरका प्रदेश तह र देशभर क्षेत्र हुने गरी सङ्घीय पञ्जीकरण अधिकारीमार्फत दर्ता गर्न सकिनुका साथै पञ्जीकरण अधिकारीले नै नियमन गर्ने गरी व्यवस्था गरिएको छ ।

यसबाट दर्ता सहजीकरण, प्रभावकारी हुनु गई कार्य सञ्चालन थप व्यवस्थित हुने र एकीकृत अभिलेख राख्ने गरी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

“हाल विद्यमान संस्था दर्ता ऐन, २०३४ मा मूलतः संस्था दर्तालाई मात्र प्राथमिकतामा राखिएको तथा राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिमका प्रबन्धहरू समेत एकीकृत ऐनबाट कार्यान्वयन हुन जानेछन्।” रिजालले भने, “संस्थाको व्यवस्थापन, अनुगमन, नियमन र कानुन विपरीतका क्रियाकलाप गरेको अवस्थामा सजायको प्रावधान समेतमा समसामयिक परिमार्जन गर्न खोजिएको छ ।”

उनले समाज कल्याणको क्षेत्रमा थप प्रभावकारी बनाउनुका साथै एकरूपता कायम हुनेछ । सङ्घ संस्था दर्ता, नियमन र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुने हुँदा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि हुन गई यसबाट सामाजिक र विकासका क्रियाकलापमा सङ्घ संस्थाको भूमिका व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी हुन गई सुशासन प्रवर्द्धन गर्नमा मद्दत पुग्ने उनको भनाई छ ।

“विधेयकमा विशेष गरी मुलुक सङ्घीय शासन प्रणालीमा प्रवेश गरेपश्चात् सङ्घ संस्था दर्ता, नियमन र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका निक्र्यौल गरी सङ्घ संस्थाको व्यवस्थापनमा थप प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ ।” रिजालले भने, “सङ्घ संस्थाको दर्ता, नियमन तथा व्यवस्थापन गर्ने सम्बन्धी प्रचलित कानुनहरू राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण परिषद् ऐन, २०४९ का व्यवस्थाहरूलाई समेटी तथा समसामयिक थप व्यवस्थाहरूलाई समेत राखेर प्रस्तुत विधेयक तयार गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट