काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेले अघि बढाएको प्रयासप्रति आपत्ति जनाउँदै नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो, त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ, लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि निकै ठूलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्माइ हो ।’
उपसभामुखले पाएको सम्मानभन्दा माथि कोही पनि पुग्न नसक्ने बताउँदै उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’
मानव तस्करीको आरोप लगाउँदै सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि रास्वपासहितका विपक्षी दलले विरोध जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस