काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतान्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
बुधबार साँझ प्रचण्डले ललितपुरको नख्खु कारागारमा पुगेर रविसँग भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा उनले रविसँग कारागारको बसाइबारे जानकारी लिएका छन् । रविलाई भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा भएको उनले जानकारी दिए ।
लामिछानेलाई भेटेर निस्किएपछि प्रचण्डले भने, ‘अभिभावकको हिसाबले उहाँको अवस्था बुझ्नु स्वाभाविक नै हो । भैरहवा हुँदा नै जान खोजेको थिए, मिलेन । उहाँको भैरहवाको भन्दा यहाँ बसाइँ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो । भैरहवाको तुलनामा यहाँ धेरै राम्रो छ ।’
उनले लामिछाने केही दुब्लाएको पनि जानकारी दिए ।
रवि भैरहवा बस्दाको अवस्था निकै जटिल भएको र त्यहाँ बस्दा झन्डै गोलघरमा नै राखिएको प्रचण्डले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस