२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह

बिहिवार , भाद्र ५, २०८२

​काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सांसद शाहीले नेपालको वर्तमान भूराजनीतिक अवस्था र विशेषगरी लिपुलेक, लिम्पियाधुरा, र कालापानी क्षेत्रमा देखिएका सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

शाहीले देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

​शाहीले भनेका छन्, ‘हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भूमरीमा फसेको देख्दा हामी चिन्तित छौँ । अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो ।’

उनले इतिहासको स्मरण गराउँदै नेपालको सिमानाको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारेका छन् ।

​उनले हालै नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर चीन र भारतबीच भएको सम्झौताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शाहीका अनुसार यो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

‘यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन,’ शाहीले भनेका छन् ।

उनले प्रधानमन्त्रीलाई तत्काल पहलकदमी लिन र सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न संघसंस्थाहरू र आम नेपालीहरूलाई एकताबद्ध गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न हार्दिक अनुरोध गरेका छन् ।

​शाहीले थप भनेका छन्, ‘राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ । यसका लागि सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट