काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या समाधानका लागि अनिवार्य आवश्यकता बनिसकेको बताएका छन् ।
स्थानीय नेतृत्व विकास मञ्चद्वारा यहाँ आज आयोजित ‘नेपालमा सङ्घीयताको एक दशकः एक समीक्षा र भावि कार्यदिशा’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सङ्घीयताको कार्यान्वयन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा देखिएका कमजोरीलाई सम्बोधन गर्न प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले तीन तहको सरकारको संरचना र अधिकारमा पनि स्पष्टता आवश्यक रहेको बताए । साथै नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख भएकाले अब यसलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सङ्घीयता कार्यान्वयनको एक दशक बितिसक्दा पनि अपेक्षित प्रगति हुन नसकेको स्वीकार गर्दै संविधान निर्माणका क्रममा राखिएका केही अव्यवहारिक प्रावधानले जटिलता थपेको बताए । देशमा भएका राम्रा काम ओझेलमा परेका र भ्रष्टाचार तथा कुशासनका मुद्दाले नकारात्मक भाष्य निर्माण भएको उनको भनाइ थियो ।
“काम नभएका होइनन्, धेरै भएका छन् । तर भ्रष्टाचार र कुशासनका कुराले हामीलाई बदनाम गरायो, जसले गर्दा लोकतन्त्र र संविधान नै बदनाम हुने खतरा बढेको छ,” प्रमुख सचेतक घिमिरेले भने । उनले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइरहेको भए पनि बजेट विनियोजनमा स्पष्टताको अभाव रहेको बताए ।
प्रतिक्रिया दिनुहोस