पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले मागेको धरौटी आइतबार नै बुझाएर बमजन धरौटी तारेखमा छुटेका छन् । फरार रहेका उनी आज (आइतबार) नै जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । आइतबार नै उनको बयान र थुनछेक बहस भएको थियो ।
उनी ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु राई (जीबी) का जेठान हुन् । जीबी हाल फरार छन् ।
सूर्यदर्शन सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको रिपोर्ट प्रहरीले निकालेको थियो । सोही सहकारी ठगी प्रकरणमा ठगी अन्तर्गत ३१ जना, सङ्गठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ ।
अध्यक्ष रहँदा बमजनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।
बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ ।
सहकारीबाट १ अर्ब ५१ करोड रुयैयाँ ठगी भएको भन्दै बिगो माग दाबी गरिएको छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित केहीलाई यसअघि धरौटीमा रिहा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस