काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले जनआन्दोलनलाई निम्तो दिएको बताएका छन् । राजनीतिक दल, पेसाकर्मीहरु र व्यवसायीहरु सरकार विरुद्ध प्रदर्शन गर्न थालेको भन्दै सरकारले नै मुलुकमा आन्दोलनको वातावरण तयार पारेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘सरकारसँग जोडिएका राष्ट्रिय र अन्तर्राराष्ट्रिय घटनाक्रमले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम सरकार नै गरिरहेको छ ।’
नेपाली भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन र भारतको सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानमाथि गम्भीर चोट पुगेको भन्दै यो नेपाल सरकारको कूटनीतीक असफलता भएको उनको भनाइ छ ।
मुलुक र जनताको हितमा नरहेको भूमि विधेयकलाई पास गर्न सरकारले जसपा नेपालको नेतृत्वमाथि ब्ल्याकमेल गर्न खोजेको उनी बताउँछन् । सरकारकै कारण पार्टीले देशव्यापी विरोध प्रदर्शन सुरु गर्नुपर्ने स्थिति बनेको उनको भनाइ छ ।
सरकारकै कारण शिक्षक महासंघले सोमबारदेखि पुनः चरणबद्ध आन्दोलन थालेको र कवाड व्यवसायीहरु समेत सडक प्रदर्शनमा उत्रेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस