काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सभापति रवि लामिछानेप्रति सद्भाव भएको बताएकी छन् । उनले सहकारीको विषयमा समाधान गर्नुको साटो सरकारले अनावश्यक राजनीतिक मुद्दा बनाएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँगको भेटघाटमा सो कुरा बताएकी हुन् । रास्वपा सांसदसमेत रहेका झाले आज बिहान पूर्वराष्ट्रपति भण्डारीको निवासमा पुगेर डेढ घण्टा लामो कुराकानी गरेका हुन् ।
पूर्वराष्ट्रपतिसँग एउटा राजनीतिक शिष्टाचार भेटघाट भएको झाले बताए । उनले कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट भएको बताए ।
‘वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो । सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले सरोकार राख्नुभयो र सभापति रवि लामिछानेप्रति सद्भाव छ भन्नुभयो’ सांसद झाले भने ।
त्यस्तै, नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको र त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
उनले नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस