विराटनगर । कानेपोखरी गाउँपालिका–३ की दागे चौधरी वर्षौंदेखि परालले छाएको सानो छाप्रोमै बस्न बाध्य थिईन । उनको त्यो कठिन दैनिकी अहिले बदलिएको छ । दिनभर मजदुरी गरेर गुजारा चलाउँने उनको घर बनाउन सक्ने सामाथ्र्य थिएन ।
अहिले उनी गाउँपालिकाले बनाइदिएको टिनको छानासहितको भुईं ढलान भएको पक्की घरमा बस्न पाउँदा निकै खुसी छिन् ।
त्यसैगरी, मजदुरी गरेर गुजारा चलाउने फूलमति चौधरी पनि फुसको घरमा वर्षा–याममा पानी चुहिँदा हैरान हुन्थिन् । अहिले उनी पनि नयाँ घर पाउँदा दागेजस्तै उल्लासित छिन् ।
यी त केही उदाहरण मात्रै हुन् । कानेपोखरी गाउँपालिकाले हालसम्म १२२ जना अतिविपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
कानेपोखरी गाउँपालिकाले शनिबार मात्रै वडा नं. १ को झर्नाघुट्टुमा ११ वटा र वडा नं. ३ को कोलटोलमा ३० वटा गरी ४१ परिवारलाई नयाँ घर हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष राजमति इङनाम, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र प्रदेश सांसद लिलाबल्लभ अधिकारीले घर हस्तान्तरण गरेका थिए ।
निर्माण भएका घरहरू सहारा नेपाल र हेवीटाट फर ह्युमानिटी नेपालको सहकार्यमा बनेका हुन् । दुई कोठे घरहरूमा भान्साघर र शौचालयसमेत सुविधा रहेको छ । प्रशोधित बाँसको प्रयोग, भुईं ढलान र टिनको छाना भएको घरहरूको निर्माण लागत करिब ५ लाख ५६ हजार रुपैयाँ पर्छ । ४१ वटा घर बनाउन कुल २ करोड २८ लाख रुपैयाँभन्दा बढी खर्च भएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष इङनामले आफ्नो कार्यकालमा १२२ घर निर्माण गरी हस्तान्तरण गरिसकेको जानकारी दिइन् । उनका अनुसार वडा नं. १ मा ३०, वडा नं. ३ मा ६० र वडा नं. ४ मा १७ घर बनेका छन् । प्रदेश सरकारसँग सहकार्य गरेर थप ३४ घर निर्माण भएको छ भने आगामी दिनमा ५० घर थप निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

अध्यक्ष इङनाम यसअघि उपाध्यक्ष रहँदा सडक निर्माण अनुगमनका क्रममा सडक किनारामा बस्ने स्थानीयको गुनासो सुनेपछि विपन्नका लागि आवास निर्माणलाई प्राथमिकतामा राखेको बताउँछिन् । उनले भनिन्, “आँगनमा कालोपत्रे सडक बने पनि घर नभएकाले स्थानीय खुसी थिएनन् । त्यसैले अब बाटो मात्र होइन, घरसमेत बनाउनुपर्छ भन्ने सोचका साथ काम गरिरहेका छौं ।”
वर्षौंदेखि फुसको छाप्रोमा कठिन जीवन बिताएका परिवारहरूले सुरक्षित र पक्की घर पाउँदा जीवनस्तरमा सकारात्मक परिवर्तन आएको अनुभूति गर्दै खुसी व्यक्त गरेका छन् ।








प्रतिक्रिया दिनुहोस