विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीलाई पन्छाउँदै प्रमुख सचिवसँगै कार्यसम्पादन सम्झौता गरेका छन् । आइतबार विराटनगरमा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कार्की र कोशी प्रदेश सरकारका प्रमुख सचिव चन्द्रकला पौडेलबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
संघीय सरकारमा प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता हुने गरेको छ । यस्तै अन्य प्रदेश सरकारले समेत मुख्यमन्त्री र मन्त्रीबीच नै कार्यसम्पादन सम्झौता हुँदै आएको छ । तर, कोशी प्रदेशमा भने यसपटक फरक प्रयोग गर्दै मुख्यमन्त्रीले मन्त्रीसँग होइन, प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

मन्त्रालयका मन्त्रीहरु पछिल्ला केही समययता विवाद र आलोचनामा तानिएका थिए । विशेषगरी ‘क्युआर आतंक’ लगायतका विभिन्न प्रकरणमा मन्त्रीहरुको भूमिका विवादित बनेपछि मुख्यमन्त्री कार्कीले कार्यसम्पादन सम्झौता प्रमुख सचिवसँग गर्र्नेनिर्णय गरिएको बुझिएको छ ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई परिणाममुखी बनाउन यस्तो कदम चालिएको बताए । उनले भने, “सम्झौता औपचारिक कागज मात्रै होइन, यो सरकारको प्रतिबद्धताको दस्तावेज हो । यसले योजनालाई गतिशील बनाउनेछ ।”
प्रमुख सचिव पौडेलले सरकारको प्राथमिकतालाई कार्यान्वयनमा ल्याउन आफ्नो टिममार्फत सक्रियता देखाउने बताइन् ।
यसरी, कोशी प्रदेश सरकारले देखाएको नयाँ अभ्यासले आगामी दिनमा प्रदेश सरकारको कामकारबाही कस्तो हुन्छ भन्ने उत्सुकता भने बढाएको छ ।
प्रतिक्रिया दिनुहोस