काठमाडौं । नेपालमा डिजिटल कारोबारको परिमाण पछिल्लो वर्ष उल्लेखनीय रुपमा बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल ९८४ खर्ब ३१ अर्ब ४३ करोड २ लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको छ।
यो कारोबार १ अर्ब ८४ करोड ३० लाख ५७ हजार ३१८ पटक भुक्तानी प्रक्रियामार्फत सम्पन्न भएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५७४ खर्ब ७८ अर्ब ३१ करोड २ लाख रुपैयाँ बराबरको डिजिटल कारोबार भएकोमा गत वर्ष सो भन्दा ४०९ खर्ब ५३ अर्ब १२ करोड रुपैयाँले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। यसरी हेर्दा डिजिटल कारोबार एकै वर्षमा ५८.४० प्रतिशतले बढेको देखिन्छ।
विशेषगरी इन्टरनेट पहुँच विस्तार, प्रयोगकर्ताको संख्यामा वृद्धि र भुक्तानीका डिजिटल माध्यम थपिँदै जानु नै कारोबार बढ्नुको मुख्य कारण रहेको बताइन्छ।
हाल नेपालमा डिजिटल कारोबारका साधनहरूमा आटीजीएस, इसीसी, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, वालेट, डेबिट–क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ लगायतको प्रयोग तीव्र गतिमा बढिरहेको छ।
राष्ट्र बैंकका अनुसार डिजिटल कारोबार र भुक्तानी दुबै क्षेत्रमा निरन्तर वृद्धि भइरहेको छ, जसले वित्तीय क्षेत्रमा प्रविधिमैत्री सुधारलाई देखाएको छ।
प्रतिक्रिया दिनुहोस