काठमाडौं । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि सो कार्यको भुक्तानी गरिदिने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अख्तियारको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई सेवाग्राहीबाट रु. ७ लाख ५० हजार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
टोलीले जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुखको सरकारी क्वाटरबाट घुस रकम रु. ७ लाख ५० हजार, श्रोत नखुलेको रु. ७१ हजार ११५ नगद तथा तीन थान मोबाइल समेत बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस