काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत) सरकारको सहयोगमा सञ्चालन भइरहेका परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, अस्पतालमा कार–टी सेल , प्रयोगशाला स्थापना गरी क्यान्सर उपचार सेवा विस्तार गर्ने योजना तथा भूमि प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा राजदूत झाङ माओमिङले मन्त्रालयले सरकार गठनपछिका पहिलो १०० दिनमा हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुभएको थियो। उहाँले सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण तथा सुशासन प्रवद्र्धनका क्षेत्रमा मन्त्रालयले अघि सारेका पहलहरू प्रभावकारी रहेको उल्लेख गरिन ।
सरकार गठनपछि पहिलो १०० दिनका प्राथमिकताका कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयन गरिरहेकी मन्त्री रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग पहिलो पटक औपचारिक शिष्टाचार भेट गर्नुभएको हो। भेटलाई नेपाल–चीनबीचको सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा समेत हेरिएको छ।
प्रतिक्रिया दिनुहोस