२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नेपालको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्व बैंकको प्रतिबद्धता

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।

भेटमा उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए ।

उनले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्र पहिचान हुनसक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताए। उपाध्यक्ष जुटले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिए ।

अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा उनीहरुबीच समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायत विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै नेपालले नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए। उनले विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्कअनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।

अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताए । उनले विधेयकको लक्ष्यअनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट