म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको छ ।
सदरमुकाम बाहिर बाबियाचौरको मङ्गला शिक्षा क्याम्पसमा एक सय १२ र घारको मुक्तिमार्ग क्याम्पसमा विद्यार्थी सङ्ख्या ५५ जना छ । समुदायस्तरबाट सञ्चालित तीनवटै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हुन् । विद्यार्थी सङ्ख्या कम भएपछि न्यू वेष्ट पोइन्ट फाउन्डेसनले व्यवस्थापन सङ्कायमा सञ्चालन गर्दै आएको स्नातक तहको कक्षा दुई वर्षअघि बन्द गरेको थियो ।
पछिल्लो दुई दशकयताको न्यून जन्मदर, बढ्दो बसाइँसराइ र विद्यार्थीहरू रोजगारीसँगै अध्ययनको अवसर खोज्दै विदेश जाने क्रम बढेपछि निजी क्षेत्रले सञ्चालन गरेको क्याम्पस बन्द तथा समुदायको प्रयासमा सञ्चालन भएका क्याम्पसमा विद्यार्थी सङ्ख्या ओरालो लागेको हो ।
म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले स्नातक तहमा नयाँ भर्ना हुने दर घटेको र भर्ना भए पनि अन्तिम वर्षसम्म नटिक्ने विद्यार्थी बढेका बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा स्नातक तहको मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायमा भर्ना हुने विद्यार्थीको सङ्ख्या आठ सय ८५ जना रहेकामा आव २०८०/०८१ मा सात सय तीन र २०८१/०८२ मा पाँच सय ५८ मा झरेको छ ।
स्नातक तहको कम्प्युटर विज्ञान विषयमा आव २०७९/०८० मा २१, २०८०/०८१ मा २८ र २०८१/०८२ मा २३ जना विद्यार्थी भर्ना भएका छन् । म्याग्दी क्याम्पसको व्यवस्थापन र शिक्षा सङ्कायमा स्नाकोत्तर तह अध्ययनका लागि आव २०७९/०८० मा ४५, २०८०/०८१ मा ६० र २०८१/०८२ मा ४६ जना विद्यार्थी भर्ना भएका छन् ।
क्याम्पसमा अध्ययनरत कुल छ सय २८ जनामध्ये ६४ दशमलव ९७ प्रतिशत छात्रा छन् । विद्यार्थी सङ्ख्या कम भए पनि क्याम्पसको उत्तीर्णदर बढेको प्रमुख सुवेदीले बताए। स्नातक तहमा २०७८ सालमा २८ दशमलव ६८, २०७९ मा ३५ दशमलव २२ र २०८० को उत्तीर्णदर ३७ दशमलव २२ छ । विसं २०८१ को नतिजा सार्वजनिक हुन बाँकी छ । स्नाकोत्तर तहमा सन् २०२३ को परीक्षामा सहभागी एक सय आठ विद्यार्थीले सबै विषय उत्तीर्ण गरेका क्याम्पस प्रमुख सुवेदीले बताए।
“विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) पाएको क्याम्पसमा उत्तीर्णदर बढे पनि विद्यार्थी सङ्ख्या बढाउन र टिकाउन चुनौती भएको छ”, उनले भने, “विद्यार्थीको सङ्ख्यासँगै शुल्कबाट हुने आम्दानी घट्दा क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन समस्या भएको छ ।”
म्याग्दी क्याम्पसका पूर्वप्रमुखसमेत रहनुभएका समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीका अनुसार त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त गरेका एक हजार ५०० मध्ये एक सयभन्दा कम विद्यार्थी रहेका क्याम्पसको सङ्ख्या चार सय छ । “पाँच सयदेखि माथि विद्यार्थी सङ्ख्या हुने सामुदायिक क्याम्पस एक सय पनि छैनन, करिब एक हजार जनाको हाराहारीमा विद्यार्थी हुने ४०–४५ वटा क्याम्पसमध्ये म्याग्दी क्याम्पस पनि एक हो”, उनले भने, “विसं २०७८ सम्म एक हजार ४०० को हाराहारीमा विद्यार्थी सङ्ख्या भएको क्याम्पसमा विद्यार्थी घट्नुको प्रमुख कारण वैदेशिक रोजगारी नै हो ।”
व्यवस्थापन सङ्कायका ३५ विद्यार्थीले एकै वर्षमा जापान अध्ययन गर्न जानका लागि सिफारिसपत्र बनाएका उनले बताए। दश जोड दुई अध्ययन सकेपछि विद्यार्थी रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला सहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै जापान, अष्टेलियाजस्ता देशमा जाने गरेका प्राध्यापक जिसीले बताए ।
ग्रामीण क्षेत्रका क्याम्पसमा अध्ययन गर्नेमा विपन्न समुदायका, छोरीबुहारी र जागिरेहरूको सङ्ख्या बाहुल्यता छ । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले छात्रावास, छात्रावृत्तिको सुविधा, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम, लोकसेवा तयारी कक्षा, प्राविधिकतर्फ कम्प्युटर, विज्ञान विषयको कक्षा सञ्चालन गरेको बताए ।
“राज्यले नै उच्च शिक्षा अध्ययनसँगै रोजगारीको अवसर पाउने वातावरण नबनाए सामुदायिक क्याम्पसहरूमा विद्यार्थीको अभाव कायम रहन्छ”, उनले भने, “उच्च शिक्षाका लागि अन्य सहरमा जाने विद्यार्थीलाई जिल्लाकै क्याम्पसमा टिकाउन समुदाय केन्द्रित र स्थानीय तहसँग समन्वय गरेर अनुसन्धानमूलक परियोजनाको योजना बनाएका छौँ ।”
प्रतिक्रिया दिनुहोस