ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी-गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाबीच आपसी समझदारी भएको छ ।
समझदारी अनुसार बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बील तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका छन् । यसबाहेक थप उपचार गर्नुपर्ने भएमा फेरि पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेपछि घाइते र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको हो ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए । चालक चौधरीलाई पनि प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको अधिकारीले बताए ।
मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेका थिए । घाइते भएकी बालिका पनि शनिबार नै अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
प्रतिक्रिया दिनुहोस