काठमाडौं । जेनजी प्रदर्शनका कारण राजधानीको मुख्य सडकहरूमा चाप बढ्दै गएको बेला राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहतर्फ जान लागेका छन् ।
राष्ट्रपति पौडेल भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गर्ने मानव अंग प्रत्यारोपणसम्बन्धी कार्यक्रममा सहभागी हुन ११ बजे भृकुटीमण्डप पुग्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको क्रममा मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरेका करिब १५ सय बिरामी तथा संलग्न चिकित्सकलाई सम्मान गरिनेछ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनी शीतल निवासबाट १०ः४५ मा प्रस्थान गरी १५ मिनेटभित्र भृकुटीमण्डप पुग्ने तालिका छ। सो अवधिभर महाराजगञ्ज–रत्नपार्क सडक खण्डमा अन्य सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। प्रहरीका अनुसार करिब १५ मिनेटको यो जामले उपत्यकाभरको ट्राफिक व्यवस्थापन प्रभावित हुने सम्भावना छ।
यसैबीच माइतीघर मण्डलामा भइरहेको जेएन जी प्रदर्शनमा सहभागीको संख्या बढ्दै गएको छ। भीड बढेसँगै माइतीघर–नयाँ बानेश्वर सडकखण्डलाई डाइभर्सन गर्ने तयारीमा ट्राफिक प्रहरी जुटेको छ। राष्ट्रपति सवारी र प्रदर्शन एकैपटक पर्न थालेपछि काठमाडौंको सडक थप अस्तव्यस्त हुने देखिएको छ।
प्रतिक्रिया दिनुहोस