काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि अमेरिकासहित सात देशका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन्।
अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूबाट आएको वक्तव्यमा शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारप्रति दृढ समर्थन व्यक्त गरिएको छ।
‘हामी सबै पक्षलाई अधिकतम संयमता अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ।
यसअघि राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पनि शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस