काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।
आज बिहान ५ बजे सकिएको कर्फ्यु पुनः बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
कर्फ्यु बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथभित्र लागू हुनेछ।
यस अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न पाउने छैनन्। सभा, जुलुस वा कुनै पनि प्रकारका प्रदर्शनमा समेत प्रतिबन्ध गरिएको छ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौंमा प्रदर्शन गर्दा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस