काठमाडौं । देशभरको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाले कर्फ्यू आदेशको पालना गर्न सबैमा अपिल गरेको छ।
सेनाले मंगलबार जारी विज्ञप्तिमा आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका लागि सहकार्य गर्न आग्रह गरेको छ।
कर्फ्यू आदेश
-
विद्यमान निषेधाज्ञा आज (भाद्र २५) बेलुकी ५ बजेसम्म निरन्तर रहनेछ।
-
त्यसपछि भोलि (भाद्र २६) बिहान ६ बजेसम्म देशभर कर्फ्यू आदेश लागू हुनेछ।
-
परिस्थितिको आधारमा थप सूचना सार्वजनिक गरिने सेनाले जनाएको छ।
अनुमति प्राप्त आवागमन
कर्फ्यू र निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन हुनेछन्। आवश्यक परे नजिकैका सुरक्षाकर्मीसँग समन्वय गर्न नागरिकलाई अनुरोध गरिएको छ।
कडा कारबाहीको चेतावनी
सेनाले आन्दोलनको नाममा हुने तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमण, बलात्कार प्रयासजस्ता अपराधलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
अफवाह नमान्न आग्रह
सेनाले अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै "जस्तोसुकै परिस्थितिमा पनि नेपालीको सुरक्षा र मानवीय उद्धारमा सेना प्रतिबद्ध रहनेछ" भनेको छ।


प्रतिक्रिया दिनुहोस